स्कुले विद्यार्थीलाई राजनीतिक शिक्षा आवश्यक हो ?

राजनीतिमा विद्यालय तहका विद्यार्थीलाई अधिक रुपमा राजनैतिक हतियार बनाउन थालिएको छ ।

जिवनोपयोगी शिक्षा, संस्कार, संंस्कृति, जीवन जगत तथा असल भविष्य निर्माणका लागि विद्यालय  पठाइएका विद्यार्थीहरुलाई राजनैतिक हतियार बनाइनु  अपराध हो ।

नेपालका विभिन्न पार्टीका भातृ संगठनले ग्रामीण तथा सहरी क्षेत्रका विद्यालयमा गएर विभिन्न प्रलोभन देखाउँदै अध्यनशील तथा   लगनशील विद्यार्थीलाई राजनीतिक दिशातिर संलग्न गराउँदै उनीहरुको भविष्यमाथि खेलबाँड गरिँदै आएको छ । 

विद्यालय तहका विद्यार्थीलाई के सचिकै राजनीतिक शिक्षा आवश्यक हो त ? यो प्रश्न गम्भीर छ । विद्यार्थीहरुका लागि शुरुमा औपचारिक शिक्षा अपरिहार्य छ । विद्यालय तहको औपचारिक शिक्षामा राजनीतिलाई प्रत्यक्ष जोड दिनु सरासर गलत हो ।

तर आजको समयमा विद्यालय पढ्दै गरेका विद्यार्थी पनि राजनीतिको सेरोफेरोमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न भएकोे पाइन्छ ।

हरेक शैक्षिक संस्थामा गएर प्रशासनमाथि राननैतिक शक्तिको प्रयोग गरी राजनैतिक संगठन विस्तार गर्नु सरासर गलत हो । तर, ठूला भनिएका दलले प्रायजसो विद्यालयमा विद्यार्थीलाई संगठन विस्तारका नाममा राजनीतिमा संलग्न गराउने काम निरन्तर भइरहेको छ ।

हरेक विद्यालय तथा शैक्षिक संस्थाले बनाएको नियम उल्लंघन गरी समिति गठनपश्चात उनीहरुलाई  नारा जुलुसमा समावेश गराउने परिपाटीले विद्यार्थीको अध्यनमा प्रत्यक्ष असर परेको छ ।

पछिल्लो सयम अदालत र निर्वाचन आयोगले सरकारी कर्मचारी र विद्यालयका शिक्षकसमेतलाई राजनीतिमा बन्देज लगाउनुपर्ने बहस भइरहेकाबेला शिक्षा मन्त्रालयले भने विद्यालयस्तरमा राजनैतिक दलको भातृसंगठनलाई बन्देज गर्ने कुनै निर्णय लिन नसक्नु कमजोरी हो ।

भविष्य निर्माणको ठूलो सपना बोकेर विद्यालयमा अध्यनरत रहेका विद्यार्थीको मस्तिष्कमा राजनीतिक छाप बसाइदिने र उनीहरुलाई विभिन्न पार्टीका कार्यक्रममा कार्यकर्ता बनाएर बोलाउने प्रक्रियाले उनीहरुको भविष्य दिनानुदिन अन्धकारतिर धकेलिँदै गएको छ । त्यतिमात्र नभएर उनीहरु उद्देश्यविहीन तथा उदासीन देखिन थालेका छन् । 

यस्तो अवस्था सिर्जना गर्नाले उनीहरुको भविष्य मरुभूमि बन्न पुग्छ । यस्ता राजैतिक नाराजुलुस तथा आन्दोलनमा कुसंस्कारले गर्दा विद्यार्थीहरुको प्रयोग गर्नाले न त उनीहरु असल राष्ट्र निर्माता बन्न सक्छन् न असल भविष्य निर्माण हुन्छ ।

अभिभावकहरुले छोराछोरीहरुलाई असल कर्म तथा दिशा र्मागदर्शन गर्नका लागि लाखौँ खर्च गरेर विद्यालय पठाएका हुन्छन् । तर, राजनीतिक दलले उनीहरुलाई राजनैतिक हतियार बनाउनु विद्यार्थीहरुको भविष्यमाथि चलखेल गर्नु सिवाय केही रहँदैन ।  

विद्यालयस्तरमै राजनीतिले प्रवेश गर्नुको कारणले विद्यार्थीहरुको वर्गीकरण हुन थालेको छ । पहुँच भएका र औसत आय भएका परिवारले आफ्ना विद्यार्थीलाई स्कुल शिक्षादेखि अनुसाशनको दायरामा राख्ने र उच्च शिक्षाका लागि विदेश पठाउने प्रवृत्ति बढ्न थालेको छ । तर, न्यून आय भएका कमजोर परिवारका विद्यार्थी राजनीतिमा रुमलिएको शिक्षामा आफूलाई अल्मलाउनेबाहेक अन्य उपलब्धि गर्न सकेका छैनन् ।

तसर्थ सबै राजनीतिक दल र शिक्षासँग सरोकारवालाहरुले यस विषयमा गम्भीर रुपमा सोच्नुपर्ने हुन्छ । विद्यालयस्तरमा राजनीतिलाई बन्देज गर्न कार्यविधि नै बनाएर कार्यान्वयन गर्नुपर्ने हुन्छ । यसो गर्न सकेमा विद्यार्थीले राम्रो शिक्षा पाउने र राजनीतिप्रति विद्यार्थीको सोचमा परिवर्तन आउने निश्चित छ ।
अन्यथा विद्यार्थीहरुले राजनीतिलाई बढवा दिने र गलत संस्कारको शुरुवात विद्यालयस्तरकबाटै हुनेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.