काठमाडौँ । खराब मौसमका कारण करिब ३० मिनेट बन्द भएको विराटनगर विमानस्थल पुनः सुचारु भएको छ ।विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार खराब मौसमका कारण बुधबार अपरान्ह ३ बजेर २० मिनेटदेखि ४ बजेसम्म विमानस्थल बन्द भएको थियो ।यद्यपि ४ बजेबाट विमानस्थल पूर्णरुपमा खुलेको छ ।
दिउँसो काठमाडौं विमानस्थल समेत बन्द भएको र विराटनगरमा समेत मौसम खराब हुदाँ बन्द गर्नुपरेको भण्डारीले बताए। बिहानबाट विराटनगरमा चिसो मौसमसँगै बादल लागेको र दिउँसोबाट वर्षा भएको छ।विराटनगरबाट काठमाडौंतर्फ कुल २१ वटा उडानको तालिका रहेको छ ।विमानस्थल बन्द हुनुपूर्व ८ वटा उडान भइसकेको बताएका सूचना अधिकारी भण्डारीले अब नियमित रुपमा १३ वटा उडानको तालिका रहेको जानकारी दिए । विराटनगरबाट बुद्ध, श्री, यति लगायतका विमानले विराटनगर काठमाडौं उडान गर्दै आएको छ ।