काठमाडौं । २०७४ सालमा कैलाली–२ बाट प्रत्यक्ष निर्वाचित रेशम चौधरी कारागार जीवन बिताइरहेका छन् । चौधरीमाथि अदालतमा मुद्दा विचाराधीन छ । जुन बेलाखबत राजनीतिक वृत्तमा बहसमा पनि आउने गर्छ । राजनीतिक मुद्दलाई अपराधको नाम दिएर आफूलाई कारागारमा राखेको चौधरीको गुनासो छ । प्रस्तुत छ, कारागार जीवन बिताइरहेका रेशमलाल चौधरीसँग भावना तामाङले गरेको कुराकानी ।
राजपा फुटेपछि तपाईंको साथ ठाकुर पक्षलाई भन्ने हल्ला सुन्नमा आएको छ नि ?
हल्ला गर्ने र आलोचना गर्नेले गरिरहन्छन् । तटस्थ बस्ने निर्णय मैले निर्वाचन आयोगमा गरेको छु । म यो निर्णयबाट पछि हटेको छैन ।
राजनीतिक दलसँग नजोडिएर बस्न सक्नुहुन्छ र ?
मैले आस्था राखेको पार्टी जसपा हो । मेरो भोटको संख्या जसपासँग जोडिएको छ । यतिखेर म जोडिएको पार्टी विभाजित छ । पार्टी पुनः एकतामा आउने विश्वासका साथ म तटस्थ बसेको हुँ ।
एकीकरण नभएसम्म तपाईं तटस्थ रहने हो ?
राजनीति हो कतिखेर के हुन्छ भन्ने टुङ्गो हुँदैन । म जोडिएको जसपा दुईवटा भएको छ । दुवै पार्टीमा मेरै साथी हुनुहुन्छ । म कुनै पक्षमा अर्को पक्षलाई चिड्याउन चाहन्नँ । पार्टी एकीकरण भए म पार्टीमा फर्किन सक्छु । तर, त्यो सम्भावना पनि न्यून छ ।
बेलाबखत रिहाइ हुने हल्ला बाहिरिन्छन् नि ?
हो, बेलाबखत यस्ता हल्ला हुने गरेका छन् । विगतमा आश्वासन धेरै देखाउँदै यस्ता हल्ला चलाइयो । तर, मेरो रिहाइको पक्षमा कोही छैन । स्वयं म संलग्न पार्टीले रिहाइका लागि बलियो कदम चाल्न सकेन । राज्यले नै जालझेल गरेर जेलमा राखेको छ । यत्ति छिट्टै जेलमुक्त हुनेमा म विश्वास गर्दिनँ ।
तपाईंलाई भेट्न कोको आउनुहुन्छ ?
प्रायः सबै दलका नेताहरु भेट्न आउनुभएको छ । भेटका क्रममा आफ्नो दलमा आबद्ध हुन अनुरोध गर्नुहुन्छ । व्यक्तिगत स्वार्थका लागि राजनीतिमा लागेको भए म उहाँहरुको सर्त मानेर जेलमुक्त हुन सक्थेँ । पार्टीको कुनै एउटा पद सम्हाल्थेँ होला ।
तर, म सिंगो थारु समुदाय र आदिवासी जनजातिको हकहितमा लड्न अघि सरेकाले व्यक्तिगत स्वार्थमा लाग्न सक्दिनँ ।
भेटका क्रममा उहाँहरुसँग के विषयमा कुरा हुन्छ ?
राजनीतिक मान्छे भएकाले राजनीतिक विषयमा नै कुरा हुन्छ । त्यसमा पनि मेरो रिहाइको विषयमा नै बढी कुराकानी केन्द्रित हुन्छ । भेटका क्रममा नेता आफ्नो दलमा प्रवेश गर्न आह्वान त केहीले पार्टी परिवर्तन गर्न सुझाव दिनुनुहुन्छ । त्यसैगरी, केहीले ठूलो दलको पछि लाग्न सुझाव दिनुहुन्छ ।
पार्टी परिवर्तन गर्ने सोचमा हुनुहुन्छ कि ?
अहिले मेरो त्यस्तो कुनै सोँच छैन । म तटस्थ रहन्छु भनेर मैले अघि नै भनिसकेँ ।
आदिवासी जनजातिका नेताबाट कतिको साथ पाउनुभएको छ ?
सबै स्वार्थमा हिँडेका छन् । आदिवासी जनजाति नेता पनि सर्तसहित आउनुहुन्छ । भेटघाट हुन्छ । केही आश्वासन देखाउनुहुन्छ । उपलब्धिमूलक साथ भने पाएको छैन ।
तपाईं र सभामुख अग्निप्रसाद सापकोटको मुद्दालाई दाँजेर हेर्ने गरेको पाइन्छ नि ?
हेर्ने र बुझ्नेले जसरी पनि व्याख्या गर्छन् । उहाँसँग जोडिएको मुद्दा र मेरो मुद्दा एकै प्रकृतिको हो । म जेलमा छु । उहाँ कानुन बनाउने प्रमुख निकाय संसदको नेतृत्व गरिरहनुभएको छ । यो गहिरो विषय हो । सभामुख र मेरो विषयको मूल्यांकन गर्ने जिम्मा नेपाली जनतालाई दिन चाहन्छु ।
जेलमुक्त हुनुभयो भने के गर्ने सोचमा हुनुहुन्छ ?
जेलमुक्त भएपछि मेरो पहिलो प्राथमिकता मेरै समुदायको पहिचानतर्फ अग्रसर हुनेछ ।