ओली पथमै देउवा सरकार, नीतिगत क्रमभंगदेखि राजीनितक नियुक्तिसम्म

काठमाडौं । नयाँ सरकार बनेसँगै सरकारले अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको थियो । तर, यो अवधिमा सरकार गर्नेपर्ने काम छाडेर भूमि आयोग खारेज, राजनीतिक नियुक्तिजस्ता कार्यलाई प्राथमिकता दिएको छ । 

सरकार गठन भएपछि गर्नैपर्ने काममा मन्त्रिपरिषद विस्तार पर्छ । आज देउवा सरकार गठन भएको ७९ दिन व्यतित भइसक्दासम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। कोरोना महामारीका बेलामा स्वास्थ्य मन्त्रालयले स्वास्थ्यमन्त्री पाउन सकेको छैन । स्वास्थ्यमन्त्री नियुक्तिको सट्टा सरकारको ध्यान राजदूत फिर्ता र नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेजीमा छ । 

यसका अलावा सरकारको आँखा राष्ट्रिय खेलकुद परिषद, राष्ट्रिय युवा परिषद् र युवा स्वरोजगार कोषमा पुगेको छ । मन्त्रिपरिषद् विस्तार गर्न नसकेका देउवा माथि उल्लेखित नियकायका अलावा अन्य निकायमा मन्त्रिपरिषदको निर्णयबाट नियुक्त भएकाले उनीहरुसँग स्पष्टीकरण पनि सोधिएको छ ।

मध्यरातमा संसदको अन्त्य गरेर विहान अध्यादेश ल्याएर सरकार चलाउने चोर बाटोमा देउवा सरकार लिप्त छ । एमाले सरकारमा हुँदा अध्यादेशले सरकार चलायो भन्ने देउवा आज उही बाटोलाई पछ्याएर सरकारको नेतृत्व गरिरहेका छन् । देउवाका यस्ता कार्य नियाल्ने हो भने सरकार कता जाँदै छ भनी हजारौँ प्रश्न जन्मिन्छन् ।

२०७४ मा निर्वाचनताका देशमा कम्युनिस्टले जिते बोल्न पनि पाइँदैन भन्ने देउवा आाफैँ सार्वजनिक मुद्दामा नाराबाजी नगर्नु भनी आदेश दिन्छन् । प्रजातन्त्रका लागि लडेको सबैभन्दा पुरानो पार्टी र लोकतन्त्रको हिमायती मानिने कांग्रेसका सभापित प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषद्को सिफारिसमा ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश सोमबार मन्त्रिपरिषद्कै सिफारिसमा फिर्ता भएको छ। सरकारको यो कदमले लोकतन्त्र स्थापित गराउने ‘विधिको शासन’ शब्दले के भनिरहेको होला ?   

सरकारमा छँदा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउँदा विरोध गर्ने कांग्रेस आफैँ सत्तामा पुग्दा एमालेभन्दा गिरेर अध्यादेश ल्याएर त्यसैका आधारमा सत्तासिन हुनु पक्कै राम्रो होइन् । यो अध्यादेश विल्कुल उनको सरकार जोगाउनका लागि ल्याइएको हो । यही अध्यादेशमार्फत् नेकपा एमालेबाट फुटेर नेकपा एस बनेको छ । नेकपा एस देउवा सरकार बनाउन सक्रिय रहेको पार्टी हो ।

नेकपा एमालेमा हुँदै हाल नेकपा एस पार्टीका अध्यक्ष माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नका लागि आग्रह गरेका थिए । र, त्यसपछि पनि माधव नेपालले बारम्बार एमालेमा विद्रोह गर्दा शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सफल भए । यही कारणले कांग्रेस सभापति देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधवकुमार नेपाललाई राजनीतिक हिरोका रुपमा चित्रण गरेका थिए ।

एमाले सरकारले प्रस्तुत गरेको बजेट तथा बजेटमा समावेश दर्जनौं राम्रा योजना र कार्यक्रम देउवा सरकारले प्रतिस्थापन गर्नु र हटाउनुले अहिले पनि नेपालमा सरकारले परिवर्तनसँगै सकरात्मक कामको निरन्तरता दिन नसकेको प्रष्ट हुन्छ । राजनीतिक रोटी सेकाउन आएकाको सरकारले राम्रो काम र कार्यक्रमको निरन्तरता दिन सक्दैन भने उदाहरण सरकारका पछिल्ला क्रियाकलाप काफी छन् । 

देश विकासका लागि राजनीतिक स्थिरतालाई निकै महत्वपूर्ण मानिन्छ । राज्यको मूल नीति भएकाले पनि राजनीतिलाई यति महत्व दिइएको हुनुपर्छ । तर, नेपालको सन्दर्भमा विभिन्न बाहनामा राजनीतिक स्थायित्व कायम हुन सकेको छैन । देशलाई विकास र समृद्धितर्फ अग्रगम गराउने हो भने राजनीतिक स्थायित्व कायम राख्न र जोसुकै सरकारले गरेका राम्रो कामलाई निरन्तरता दिन जरुरी छ । देश विकासको उत्कट चाहना भएका कारण आमनेपाली जनता नीतिगत क्रमभंगताको सट्टा देउवा सरकार सिर्जनात्मक कार्यमा संलग्न भएको हेर्न चाहन्छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.