मन्त्रिमण्डल विस्तारको विषयलाई लिएर चित्त दुखाएका जसपा अध्यक्ष उपेन्द्र यादवलाई बाबुराम भट्टराईले फकाउनुपरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रिमण्लमा उपप्रधानमन्त्री नराख्ने घोषणा गरेसँगै भट्टराईले उपेन्द्रलाई सम्झाउनुपरेको हो । उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित आफैँ सरकारमा सहभागी हुन चाहन्थे । देउवाले उपप्रधानमन्त्री नराख्ने घोषणा गरेसँगै उनको मन्त्री बन्ने सपना अधुरो छ ।
भट्टराईले फकाएपछि केही मन्द भएका यादव पुन: मन्त्रालयको विषयलाई लिएर असन्तुष्ट बनेका छन् । यसअघि यादवलाई मन्त्रीको विषयलाई लिएर हाम्रा साथी मन्त्रिमण्डलमा जाँदा हामी गएजत्तिकै हुने भन्दै फुलाएका थिए ।
सोमबार बसेको देउवा र माओवादीबीच भएको छलफलबाट माओवादीले शिक्षा र स्वास्थ्यमध्ये एक, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमिसुधार मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाउने सहमति भएको छ ।
माओवादीले यसअघि अर्थ र ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेको छ । सरसर्ती हेर्दा उपेन्द्र यादवले दाबी गरेका मन्त्रालयमध्ये मालदार भनी चिनिने मन्त्रालय लगभग कांग्रेस र माओवादीले लिइसकेका छन् ।
कांग्रेसले यसअघि कानुन,गृह परराष्ट्र मन्त्रालय सम्हालिसकेको छ । मालदार मन्त्रालयको रुपमा परिचित अब रक्षा मन्त्रालयम बाँकी छन् । अरु मन्त्रालय औपचारिक मन्त्रालयका रुपमा चिनिन्छन् । यादव यसअघि उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिन चाहन्थे । भलै मंगलबार गठबन्धनबीच मालदार भनी चिनिने भौतिक पूर्वाधार तथा यातायात जसपाको भागमा परेको छ ।
केपी शर्मा ओलीले पुस ५ र सोपश्चात् संसद विघटन गरेपछि जसपा तत्कालीन केपी समूह र नेपाल- दाहाल समूहमा विभाजन भएको थियो । केपीविरुद्ध आन्दोलन गर्ने क्रममा जसपा अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा सरकारमा जाने सहमति गरौँ भनी माओवादीले प्रस्ताव गरेको थियो ।
तर, ठाकुर आफू प्रधानमन्त्री बन्न भन्दा पनि केपी शर्मा ओलीको नेतृत्वको सरकारमा सहभागी भई आफ्ना मुद्दा संबोधन गर्न लागि परेका थिए । विडम्बना उनी सरकारमा सहभागी भई नागरिक विधेयक अध्यादेशबाट ल्याइए पनि तत्काल कार्यान्वयन नगर्नू भनी अदालतले दिएको आदेशसँगै २० मन्त्री सरकारबाट बाहिरिए । ठाकुरले प्रचण्डको प्रस्तावमा सहमति जनाएका भए सम्भवत: यतिखेर प्रधानमन्त्री हुन्थे होलान् ।
मुद्दाका आधारमा महन्थ ठाकुर प्रतिपक्षीमा रहनुपर्ने हो । तर, गठबन्धनको सहकार्यमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई विश्वासको मत दिएसँगै उनी सत्ता पक्षमा छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु उनको बाध्यता थियो । विश्वासको मत दिएसँगै जसपा नेता भट्टराईले ‘अभागीलाई खानेबेलामा..... ’ हुन्छ भनी महन्थप्रति असन्तुष्टि पोखेका थिए ।
तर, सुरुदेखि नै ओलीविरुद्ध उभिँदै आएका उपेन्द्र र भट्टराई पनि यतिखेर बेचैनमा छन् । मन्त्रालय भागबन्डाको विषयमा कांग्रेस र माओवादी हावी छ । मंगलबार मात्रै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्षबीच माओवादीले लिने मन्त्रालयको विषयमा सहमति भएसँगै यादवले असन्तुष्टि प्रकट गरेका छन् । यस्ता क्रियाकलापले यादव-भट्टराईलाई गठबन्धन नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छाबाबुको अनुहारजस्तै भएको छ ।