पृथ्वी रहे मात्र हामी रहन्छौं: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा विशेष शतर्कता अपनाउनु जरुरी रहेको बताएका छन्।बुधवारबाट काठमाडौंमा सुरु भएको एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्का (इन्टरनेसनल फेडेरेसन अफ एसियन एण्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर्स) को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कुनै पनि मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेल्ने गरेको बताए।उनले ‘पृथ्वी रहे मात्र हामी रहन्छौं’ भन्ने मान्यतालाई आत्मसात गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि आह्वान गरे।उनले संगठनले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।राष्ट्रपति पौडेलले कार्वन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्न आग्रह गरे।उनले विश्व अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै संकटग्रस्त अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सकारात्मक भूमिका खेल्न पनि आग्रह गरे।

© 2021 Quicknepal.com  |  All Rights Reserved.