युवा संघ र दुर्गा प्रसाईंको प्रदर्शन आज

काठमाडौं- नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिहीबार प्रदर्शन गर्दैछन्।व्यवसायी प्रसाईंको अभियान मुख्यगरी काठमाडौंको बल्खु क्षेत्रमा केन्द्रित हुने भएको छ।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नाम दिइएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका प्रदर्शनकारीहरू विभिन्न रुट प्रयोग गरी बल्खु क्षेत्रमा भेला हुने बताइएको छ।कार्यक्रममा राष्ट्रिय झन्डा र धार्मिक झन्डाबाहेक अन्य झन्डा बोक्न निषेध गरिएको छ भने धर्मगुरुहरुलाई अग्रस्थानमा राखेर र्‍याली अगाडि बढाइने पनि बताइएको छ।

युवा संघको नेतृत्वमा तीनकुनेमा प्रदर्शन हुने बताइएकाे छ।युवा संघ र प्रसाईंबीचकाे मनमुटावले दुवै समूहबीच झडप हुनसक्ने आकलन गर्दै काठमाडौं उपत्यकाकाे सुरक्षा व्यवस्था कडा पारिएकाे छ।यसका लागि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डिआइजी लालमणि आचार्यको नेतृत्वमा एकीकृत कमान्ड सेन्टर स्थापना गरिएको छ।

जसमा सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू रहेका छन्।आजकाे सुरक्षाका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिने छ। आवश्यक परे थप जनशक्ति तयारी अवस्थामा रहने छन्।काठमाडौंमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने बताइएकाे छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.