झापा, मोरङ र सुनसरीका नाकामा कडाइ

काठमाडौं । मोरङ- भारतसँग जोडिएका कोसी प्रदेशका तीनवटा तराई जिल्लाका सीमानाकामा स्थानीय प्रशासनले सतर्कता बढाएको छ।स्थानीय प्रशासनले झापा, मोरङ र सुनसरीतर्फको नाकामा सतर्कता बढाएको हो। तराई क्षेत्रमध्ये सुनसरीको विभिन्न स्थानमा हुने भनिएको मुस्लिम समुदायको धार्मिकसभाका लागि भारततर्फबाट नागरिक आउनेक्रम बढेसँगै प्रशासनले सतर्कता अपनाएको हाे।जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार पछिल्लो समय सीमाक्षेत्रबाट आउजाउ बढेसँगै प्रहरीले धार्मिकसभाका लागि नेपालतर्फ आउनेहरूलाई भारततर्फ नै पठाउन थालेको छ।

मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले विराटनगरको रानी क्षेत्रबाट प्रवेश गर्न आउनेहरूलाई रोक्दै भारततर्फ नै पठाउन थालिएको जानकारी दिए।

अर्कोतर्फ, सुनसरीबाट कोसी प्रदेशसभा सदस्य रहेका इस्राइल मन्सुरीले धार्मिक सभाका लागि धर्मगुरुहरू आएको जानकारी दिए। सभालाई दुहबी प्रशासनले स्थगित गर्न आग्रह गरेपछि सबै मुस्लिम गुरु फर्किने क्रममा रहेको उनको भनाइ छ।मुस्लिम समुदायको सुनसरीको खनारमा मंसिर ५ देखि ७ र दुहबीमा ७ देखि ९ गतेसम्म मुस्लिम धर्मसभा ‘इज्तेमा’ गर्ने कार्यक्रम रहेको थियो। सभाका लागि भारतसँगै, बंगलादेश र पाकिस्तानबाट पाहुना आउने क्रम सुरु भएको थियो।उनीहरू भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रशासनले नाकाबाटै फर्काउन थालेको हो।प्रहरी स्रोतका अनुसार धार्मिकसभाका लागि पाकिस्तानबाट करिब १५ जनाको टोली आएको छ। तर सो टोलीलाई कहाँ राखिएको छ भन्ने खुल्न सकेको छैन। त्यसैगरी, बंगलादेशबाट ८ जनाको टोली आएको थियो।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.