हुम्ला गोल्ड कपः रोकिएको सेमिफाइनलका खेल हुने

काठमाडौं । सिमकोट– दुई दिनदेखि रोकिएको हुम्ला गोल्ड कपका सेमिफाइनलका खेल सञ्चालन हुने भएका छन्। पहिलो सेमिफाइनल खेल्ने इमर्जिङ युवा क्लब र सनलाइट युवा क्लबबीच सहमति भएपछि बिहीबार दुई वटा सेमिफाइनल खेल हुने भएका हुन्।आयोजक, जिल्ला प्रहरी कार्यालय र दुबै टिमबीच भएको बार्तामा सहमतिअनुसार रोकिएका सेमिफाइनलका खेल सञ्चालन हुने भएका छन्। आयोजक हुम्ला फुटबल एकेडेमीका अध्यक्ष बिष्णुबहादुर रावतले सहमतिअनुसार बिबादले रोकिएको पहिलो सेमिफाइनल खेल पूरै समय खेलिने बताए।

उनले इमर्जिङ युवा क्लबलाई बिबाद हुँदाका दिन गरेकोे एक गोललाई भने मान्यता दिइने बताए। अब दुवै सेमिफाइनल खेल बिहीबार हुनेछन्। सोमबार निर्धारित समयको आधा समय खेल सुचारु भएको हुम्ला गोल्ड कपको पहिलो सेमिफाइनल खेल स्थगन भएको थियो।

दोस्रो हाफ सुरु हुन लागेका बेला सनलाइट युवा क्लवले नयाँ खेलाडी थपिएको भन्दै खेल खेल्न इन्कार गरेको थियो।
सनलाइटले टिम दर्ता फारममा नाम काटेर नयाँ खेलाडी सेमिफाइनलका लागि इमर्जिङले थपेको आरोप लगाएको थियो। मंसिर ४ गतेबाट जारी रहेको खेल अब शुक्रबार फाइनल खेल हुनेछ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.