भूकम्पपीडितलाई निर्वाचन आयोगको आर्थिक सहयोग

काठमाडौं- जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन्।आयोगको बुधबार बसेको बैठकले आयोगका प्रमुख आयुक्त र आयुक्तले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो।

प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कर्मचारीमध्ये सचिव र सहसचिवबाट तीन, उपसचिव र शाखा अधिकृतबाट दुई र सोभन्दा तलका कर्मचारीबाट एक दिन बराबरको पारश्रमिक सहयोग गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

भूकम्पपीडितको राहत र पुनःस्थापनका उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पठाइने उनले बताए।जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको थियो। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरूपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको थियो।

© 2021 Quicknepal.com  |  All Rights Reserved.