विराटनगर आगलागी अपडेट: थप एक जनाकाे मृत्यु

काठमाडौं । विराटनगरमा बुधबार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ। हिजाे दिउँसो विराटनगर महानगरपालिका ७ स्थित कवाडी गोदाममा भएको आगलागीमा २ जनाको मृत्यु भएको थियो।  सोही आगलागीमा परी गम्भीर घाइते भएकामध्ये थप १ जनाको काठमाडौंस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रञ्जनकुमार दाहालका अनुसार बुधबार राति करिब ८ बजेर २५ मिनेटमा विराटनगर ६ की ६५ वर्षीया सुनिता कामतको मृत्यु भएको हो।

विराटनगरबाट गम्भीर अवस्थामा बुधबार बेलुका नै नेपाली आर्मीको सहयोगमा काठमाडौं उपचारका लागि पुर्‍याइएका कामतको उपचार सुरु हुने क्रममै मृत्यु भएको उनले बताए।प्रहरी नायब उपरिक्षक दाहालका अनुसार आगलागीमा परी ४० वर्षीय दिपक मण्डलको विराटनगरस्थित न्यूरो अस्पताल र ५५ वर्षीया सुशीला पासवानको घटनास्थलमा मृत्यु भएको थियो। आगलागीबाट पूर्णरूपमा क्षति पुगेको पासवानको शव सुरुमा पहिचानमा आउन सकेको थिएन्।त्यसैगरी, हाल काठमाडौंस्थित बर्न अस्पतालमा उपचाररत ६० वर्षीया रिता सरदारको अवस्था गम्भीर रहेको छ। यस्तै, ५८ वर्षीय किशोर पासवान, कटहरी गाँउपालिका ६ की ३० वर्षीया पिंकी कामतको अवस्था सामान्य रहेको छ। मोरङ प्रहरीका अनुसार आगलागीमा परी करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.