बाहुन व्यवस्थाको बासी अवशेष हो, बोक्सी प्रथा

कमजोर आर्थिक अवस्था र दमित चेतनाको कारण समाजमा हुने धेरै घटना प्रहरी प्रशासनसम्म आइपुग्न नसक्ने देखिएको हो । जबसम्म समाजमा रुढिवादी मूल्य मान्यतालाई आधुनिक विज्ञानसम्मत मन्यताले प्रतिस्थापन गर्दैन तबसम्म यस्ता घटना समाजमा भइरहने अवस्था छ । र, समाजमा रहेका आर्थिक साधनहरुमाथिको पहुँच नबढ्दासम्म यस्ता घटना भइरहने माथिका प्रतिनिधि घटनाहरुले देखाएका छन् ।

काठमाडौं । नेपाली राजनीतिमा जति भौतिकवादी चिन्तन भएपनि नेपाली समाज भौतिकवादी भएको छैन । विज्ञानले पुष्टि गरेका तथ्यलाई सांस्कृतिक एवम धार्मिक मान्यताले अझै अतिक्रमण गरेको देखिन्छ ।

नेपाली समाजमा धार्मिक दृष्टिकोण एवम आदर्शवादी चिन्तनको हावी देखिन्छ । जसलाई टेको बनाएर अन्धविश्वास र कुरीतिका क्रियाकलाप खुल्लाम खुल्ला भइरहेको छ । नेपाली समाजमा अझै पनि धर्म संस्कृतिको नाममा विभिन्न कुरीतिहरु कायमै छन् । जसमध्ये बोक्सी (बोक्सा) आरोपका कुरीति ज्वलन्त उदाहरण हो ।

प्रतिनिधि घटना

२०७८ साल कातिक १२ गते धनुषामा यस्तै घटना भयो । ५५ वर्षीय वृद्धमाथि बोक्साको आरोपमा छिमेकीले कुटपिट गरेपछि यो घटना बाहिरियो । छिमेकीले रुपसी ठाकुर लोहारमाथि कुटपिट मात्र गरेका थिएनन् । छिमेकीले लोहारलाई मलमूत्र समेत जबर्जस्ती खुवाएका थिए । समाजमा घट्ने यस्ता घटना पहिलो होइन, यो त प्रतिनिधि मात्र हो ।

२०७७ साल फागुन २८ गते मोरङ रतुवामाईकी देवकी देवी गन्गाई पनि बोक्सीको आरोपमा कुटपिटको सिकार भइन् । गन्गाईलाई बोक्सीको आरोपमा ९/१० जनाको समूहले हात खुट्टा बाँधेर निर्घात कुटपिट गरेका थिए । कुटाइबाट ६१ वर्षीया देवकी शारीरिक रुपमा मात्र होइन मानसिक रुपमा पनि विक्षिप्त बनिन् । पाँच जना पीडकविरुद्ध उजुरी जाहेर गरिएको भएपनि गन्गाईलाई बोक्सीको आरोप लगाई कुटपिट गर्नेमध्ये २ जना मात्र पक्राउ परेका हुन् ।

महोत्तरी भंगाहकी चन्दन देवी दनुवारलाई छिमेकी केही महिलाहरुले उनीमाथि जबरजस्ती मलमूत्र खुवाए, कारण थियो बोक्सीको आरोप । गाउँलेको जबरजस्तीले चन्दनदेवी ७ महिनासम्म खाना खान नसक्ने गरी बिरामी परिन् । आफूमाथि भएको अन्यायको विरुद्ध आवाज उठाउन भने उनी पछि परिनन् । उनले ती दोषीमाथि मुद्धा दायर गरिन् ।

एक दशकमा ४ सय २५ घटना

नेपाल प्रहरीको प्रधान कार्यालयले तयार पारेको रिपोर्ट अनुसार प्रत्येक वर्षमा सरदर ४२ जनामाथि यस्ता घटना हुने गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार १० वर्षको अवधिमा ४ सय २५ जनामाथि बोक्सीको आरोप लगाइ कुटपिट गरिएको छ ।

यो तथ्याङ्क प्रहरी समक्ष आइपुगेका घटनाको मात्र हो । कतिपय पीडितहरु विभिन्न डरका कारण प्रहरी समक्ष आउन नै सक्दैनन् । कतिपय पीडितलाई कानूनी उपचारको ज्ञानको अभाव छ ।
बोक्सीको आरोपमा कुटाइ खानेमध्ये अधिकांश साहराविहिन र गरिबीको रेखामुनि रहेका महिलाहरु छन् । एकाध पुरुषहरुलाई पनि यस्ता खाले दोष लाग्ने गरेको छ ।

समाजका कथित उपल्लो दर्जाका मानिसहरुले कथित सानो दर्जाका मानिसहरुमाथि बोक्सीको आरोप लगाइ कुटपिट गर्ने गरेको देखिएको छ । यस्ता दुर्व्यवहारले मौलिक अधिकार खोसिएको छ । साथै मानव अधिकार समेत हनन् भएको छ ।

यस्ता छन्, कानूनी व्यवस्था

नेपालको संविधान २०७२ को भाग–३, धारा–३८ मा महिलाको हकको व्यवस्था गरिएको छ । धारा–३८ को उपधारा–३ मा महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुने कुरा उल्लेख गरिएको छ ।

सर्वाेच्च अदालतले २०६२ सालमा बोक्सी विषयलाई सम्बोधन गर्ने गरी कानून बनाउन नेपाल सरकारलाई आदेश दिएको थियो । कसुर सम्बन्धी २०६३ मा मुलुकी ऐनभित्र केही कानून समावेश गरिएको थियो । यही कानूनलाई आधार बनाएर २०७२ मा ‘बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२’ निर्माण भयो । यस ऐन अनुसार बोक्सीको आरोपमा कुटपिट गर्ने र मलमूत्र खुवाउने पीडकलाई कसुर अनुसार ६ महिनादेखि ५ वर्ष सम्मको सजाय र २० हजारदेखि १ लाख रुपैयाँ सम्मको जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

कसरी हटाउन सकिन्छ, समस्या ?

नेपालमा कानूनी व्यवस्था छ । कानूनी व्यवस्थालाई कार्यान्वयन गर्ने संयन्त्र पनि छन् । सरकार छ । सरकार स्थानीय तहसम्म बनेका छन् । व्यवस्थापिका छ । यसको अभ्यास स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षबाट भइरहेको छ । यी कानूनी व्यवस्था र संयन्त्रका बाबजूद पनि किन समाजमा यस्ता घटनाहरु भइरहेका छन् भनी विमर्श गर्नु आवश्यक भएको छ ।

यस्ता घटनाहरुको वृद्धिमा सामाजिक मूल्य मान्यता वा सांस्कृतिक विषय प्रधान रहेको देखिन्छ । नेपालमा हिन्दू, बौद्ध, क्रिश्चियन, इस्लाम धर्म मानिन्छ । हिन्दू धर्मभित्र पनि विभिन्न सम्प्रदाय छ । हिन्दू धर्मले सामाजिक रीतिस्थिति कायम गर्न धार्मिक कानूनको व्यवस्था गरेको छ । मनुस्मृति यसको ज्वलन्त नमूना हो । यसले समाजमा ठूला–साना जात कायम गरेको छ । समाजमा काम अनुसारको जात व्यवस्था सिर्जना गरिएको छ । यसले गर्दा छुवाछुत जस्ता घटनामा वृद्धि भइरहेको देखिन्छ ।

समाजमा बोक्सी प्रथा जस्ता घटनाको वृद्धिमा आर्थिक दुरावस्था पनि कारण रहेको देखिन्छ । कमजोर आर्थिक अवस्था भएका समाजका व्यक्तिमाथि बलियो आर्थिक अवस्था भएका व्यक्तिले शोषण गर्ने गरेको देखिन्छ । कमजोर आर्थिक अवस्थाले गर्दा समाजमा न्यायमाथिको पहुँच पनि कम हुने गरेको देखिएको छ ।

कमजोर आर्थिक अवस्था र दमित चेतनाको कारण समाजमा हुने धेरै घटना प्रहरी प्रशासनसम्म आइपुग्न नसक्ने देखिएको हो । जबसम्म समाजमा रुढिवादी मूल्य मान्यतालाई आधुनिक विज्ञानसम्मत मान्यताले प्रतिस्थापन गर्दैन तबसम्म यस्ता घटना समाजमा भइरहने अवस्था छ । र, समाजमा रहेका आर्थिक साधनहरुमाथिको पहुँच नबढ्दासम्म यस्ता घटना भइरहने माथिका प्रतिनिधि घटनाहरुले देखाएका छन् ।

समाजले धनिहरुलाई भन्दा गरिबहरुलाई बोक्सीको आरोप लगाउने गरेको देखिएको छ । यदि गरिबहरु मात्र बोक्सी हुन्छन् भने यो बोक्सी भन्ने चिजको अस्तित्व छैन । यो त शोषणको पुरानो साधन मात्र हो । यी तथ्य, तथ्याङ्क र तर्कहरुलाई हेर्दा के समाजमा धनीहरु चाहिँ बोक्सी हुँदैन भन्ने प्रश्न गर्नु अनिवार्य जस्तो छ । यदि धनीहरु चाहिँ बाेक्सी हुँदैनन् भने गरिब मात्र बोक्सी हुने आधार के ? यी प्रश्नहरुको उत्तर समाजमा बोक्सी हुँदैनन् भनी  दिनु नै वैज्ञानिक उत्तर हुन्छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.