तपाईहरुले बदलिँदो परिस्थिति, राष्ट्रको आवश्यकता ,मानव जातिको आवश्यकता र त्यसलाई परिपूर्ति गर्ने सम्बन्धमा प्रविधिको विकासका कुराहरुलाई ध्यानमा राखेर, यिनको महत्वलाई बुझेर, आइटीको सेक्टर, साइबर सेक्टरहरुलाई दुरुपयोग हुनबाट जोगाउने काम गर्नुपर्दछ ।
दुरुपयोग भयो भने त्यसको निरुपण गर्ने र राष्ट्र निमार्णमा सही पक्ष र आवश्यक पक्षलाई उजागर गर्ने काम पनि तपाईहरुले गर्नुपर्छ ।
राष्ट्र निमार्णको अभियानलाई अगाडि बढाउन योगदान गर्ने हिसाबले साइबर सर्कलको प्रारम्भ भएको छ । यस अवसरमा म तपाईहरुलाई बधाई भन्न चाहन्छु ।
यसलाई प्रारम्भ गरेर अगाडि बढाउने साथीहरु युवा संघ नेपाल र त्यससँग विभिन्न ढङ्गले सम्बन्धित रहेका साथीहरुलाई धन्यवाद ! भन्न चाहन्छु ।
तपाईहरु माथि आशा जागेको छ । आज देशमा जस्तो खालको राजनीति चलिरहेको छ र त्यसको विरुद्ध जसरी राजनीतिलाई प्रयोग गर्न खोजिएको छ, राज्यका र राज्यका भन्दा अझ बढी बाहिरका प्रत्यक्ष वा परोक्ष नदेखिएकाहरुबाट सञ्चार क्षेत्रमा हस्तक्षेप भएको छ । यो डर लाग्दो कुरा छ ।
यो संसारको सूचना र सूचना प्रविधिलाई हातमा लिने र त्यसलाई प्रयोग गर्ने, गलत बाटोबाट लगानीकर्ताहरुको अहित गरी त्यसलाई दुरुपयोग गर्ने, राजनीतिलाई दुर्गन्धित बनाउने, समाजलाई अहित गर्ने, राष्ट्रिय एकतालाई कमजोर पार्ने, समाजलाई विभाजित गर्ने यस्ता प्रयासहरु भइरहेका छन् ।
सञ्चार माध्यमहरु यसका निम्ति जनचेतना फैलाउने मध्यम हुन् । राष्ट्रहितको निम्ति विकासको वातावरण निर्माण गर्ने अथवा राष्ट्रहित विपरीत कार्य गर्ने कुराहरुको लागि यो क्षेत्रको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
त्यसकारण यहाँहरुले जनता समक्ष सत्य समाचार मात्र पु¥याउनु पर्छ । वैज्ञानिक चेतना अग्रगामी चेतना, न्यायोचित चेतना जनतासम्म पु¥याउने माध्यम हो सञ्चार माध्यम । सञ्चार माध्यमले फेक न्युज पनि दिनसक्दो रहेछ इतिहासमा कहिलेकाहीँ ।
राष्ट्रको विरुद्ध जनताको विरुद्ध समाचार बनाउनु सञ्चार माध्यमको धर्म होइन । जनताले लडेर ल्याएको उपलब्धिको विरुद्धमा सञ्चार माध्यमले गलत तथा आधारहीन समाचारहरु बनाउनु हुँदैन । तर, नेपालमा जनताको उपलब्धिविरुद्ध केही हुने गरेको हामीले थाहा पाएका छौं ।
हामीले गरेका ठूला ठूला उपलब्धि, नेपालीपनका कामहरु, हामीले गर्न खोजेका विकासका प्रयासहरु, हामीले अगाडी सारेका विकासका नीतिहरु, न्यायसँगका, सामाजिक, आर्थिक नीतिहरुलाई गलत ढंगले प्रस्तुत गर्ने तिनको अपव्याख्या गर्ने, तिनको सम्बन्धमा भ्रम फैलाउने कामहरु कतिपय ठाँउहरुबाट हुने गरेको छ ।
मैले विश्वास गरेको छु, यो साइबर सर्कलले राष्ट्रको हितमा राष्ट्रिय भावना जगाउने, राष्ट्रिय एकता बचाउँने, विकासको काममा उत्प्रेरित गर्ने, शान्ति सुव्यवस्था स्थापना गर्ने खालका भावना जगाउने, काम गर्नेछ भन्नेमा म विश्वस्त छु ।
जनताले जित्ने कि जन विरोधीहरुले जित्ने भन्ने फेरि एउटा निर्णय हुने वाला छ । कतिले ठानेका छन्, अदालतको फैसलाबाट देश र जनताको पक्षधर शक्तिलाई पराजित गरियो ।
जनादेशबाट एउटा सरकारलाई हटाइयो यो नै अन्तिम विजय हो भन्ने ठानेका छन् । केही व्यक्तिहरु विभिन्न कुरा बोल्दै हिँडेका छन् ।
एक जना व्यक्तिले ४ वर्ष पहिले मसँगै पराजित भएको व्यक्तिले हिन्दी फिल्मको डाइलग बोलेछन् । ‘जो हाम्से टक्राएगा चुर चुर होजाएगा’ यदि त्यसो हो भने त चार वर्ष पहिले नै हारेर चुर चुर भइसकेको हो । मलाई अचम्म लाग्छ कसरी बोल्न सक्छन्, मान्छेहरु यस्तो कुरा ।
यी कांग्रेसको पुच्छर समातेर फुर्ति लगाइरहेका छन् । पिठ्युँमा झिँगो बसो भने कांग्रेसले पुच्छर हल्लाउँदा यिनीहरु उछिटिएर कँहा पुग्ने हुन थाहा छैन । कांग्रेसको पुच्छरले यत्रो धाक लाउने एमालेसँग । अब एमाले पार्टीको नाम होइन जनताको शक्तिको नाम हो ।
पाँच दल जुन बाटोबाट सरकारमा आए अहिले सर्वोच्चको हालत हेर्नुस् त ! अहिले देशमा आन्दोलन छैन, सर्वोच्चमा आन्दोलन छ । जनता छक्क परेर हेरिरहेको छन् सर्वोच्चमा कराँते खेलेको । कारण के हो त पाँच दलको कानुनी रिफ्लेक्स हो ।
पाँच दलको सरकार भएपछि बारमा आन्दोलन नभएर के हुन्छ त ? न्यायिक क्षेत्रलाई क्यान्सर भइसकेको छ । अण्डा दुनामा मन्साएर क्यान्सर निको हुन्छ ? त्यहाँ अपरेसनको आवश्यकता छ । यस विषयमा साइबर सर्कलले बोल्नुपर्छ ।
हामी वैचारिक लडाईमा छौं, जो जुन ठाँउमा छौँ त्यहीँबाट यो लडाइँ जित्न पर्छ । लोकतन्त्रको लागि यो लडाइँ जित्नै पर्छ । यहाँ प्रयोग गर्न नहुने अस्त्रहरु प्रयोग भएको छ ।
हामीलाई हानेको ब्रह्मअस्त्र आफैलाई लागेर छटपटिएका छन् । योे अदालतमा देखिएको छ तर, यो पाँच दलको छटपटी हो । यिनीहरुले गर्न सक्दा धरहरा डाल्थे, त्यहाँको फोटो च्यातेर फ्याल्थे तर त्यहाँ जनता भएकाले नसकेर मात्र हो ।
देशको लोकतान्त्रको निम्ति, खाडी मुलुक जाने युवाहरुको लागिको हो यो लडाइँ । यहाँ जनता घाइते छन् तर, कसैको छोरीको नातिनीहरु बेलायतमा पढ्छन् । यो खुशीको कुरा हो ? उनीहरुले सुख पाउँछन् । हामी त्यस्तो होइन जनताको सुख हेर्छौँ आउनुहोस् हाम्रो पार्टीमा स्वागत छ ।
तपाईहरुलाई माओवादीको सङ्गत गरेर कांग्रेसको पछि लागेर केही हुनेवाला छैन । कांगे्रस अब सबै कुरामा बुढो भयो ।
कांग्रेस जस्तो पार्टी हेर्नुहोस् त प्रचण्ड र माधवको हात समातेर हिडेको । यस्तो कांग्रेसबाट बन्छ देश ?
आउनुहोस् एमालेको राष्ट्र निर्माण बाहेक केही छैन, हाम्रो उद्देश्य । प्रचण्डले हामीलाई बिगार्न खोजेका थिए । हामी नबिग्रने देखेपछि प्रचण्ड टाप, अहिले कांग्रेससँग लागेका छन् । कांग्रेसलाई म चेतावनी दिन चाहन्छु कांग्रेस होसियार !
साइबर सर्कल हाम्रो उद्देश्य, विचारलाई बुझेर अगाडि बढोस् । म विश्वस्त छु सफल हुनेमा । यही शुभकामना व्यक्त गर्दछु ।
(नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ८ गते साइवर सर्कलको उद्घाटनमा व्यक्त विचार ।)