बर्थिङ सेन्टरमा प्रसूति गराउनेमध्ये कोही खुसी

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका– १ की २५ वर्षीया फुर्पा खेन्दो शेर्पालाई सुत्केरी हुँदाको लामो प्रसव वेदना सहन परेन । किनकि अस्पतालले दिएको सुत्केरी मितिभन्दा अगाडि नै उनले बर्थिङ सेन्टरमा जाने निर्णय गरिन् । लिन घरमै एम्बुलेन्स पुग्यो र बर्थिङ सेन्टरमै उनले छोरा जन्माइन् ।

चनौटे बजारभन्दा माथि महांकालमा रहेको इचोक स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) आइपुग्न मेलम्ची घ्याङबाट उनलाई मुस्किलले चार घन्टा पैदल हिँड्न पर्थ्यो । तर गाउँपालिकाले व्यवस्था गरेको एम्बुलेन्सबाट दुई घन्टामै बर्थिङ सेन्टर आइपुगिन् ।

उनले एम्बुलेन्सको भाडासमेत तिर्नुपरेन । बरु सरकारले सुत्केरीलाई पोषिलो खानेकुरा खुवाउन यातायातका लागि दिने जम्मा रकम ३८ सयमाथि गाउँपालिकाले थप गरेर ६ हजार चार सय रुपैयाँ दियो । आफ्नै गाउँमा यो सेवा पाएपछि खुसी छिन् फुर्वा।

हेलम्बु गाउँपालिकाले सुत्केरी आमाहरूलाई राम्रो व्यवस्था गरेको उनले बताइन् । ‘पहिला त सुत्केरी गराउन धुलिखेल, काठमाडौं पुग्न पर्थ्यो, अहिले पालिकामै राम्रो व्यवस्था छ’, उत्साहित हुँदै उनले भनिन् ।

‘सुत्केरी गराउँदा आमा र बच्चाको स्वास्थ्य राम्रो हुनेमा अब हामी विश्वस्त छौँ’, पाचँपोखरी थाङपाल गाउँपालिकाकी स्थानीय सरिता खत्रीले भनिन् । विगतमा घरमै सुत्केरी गराउँदा समस्या पर्‍यो भने सदरमुकाम अस्पतालमा पुग्न घण्टौ लाग्ने, हेलिकोप्टरमार्फत उद्धार गर्नुपर्ने हुँदा जोखिम र खर्चालु हुने गरेको उनको भनाइ छ ।

त्रिपुरासुन्दरी गाउँपालिका १ गोर्थली बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी गीता न्यौपानेले पछिल्लो समय गर्भवती महिला नियमित स्वास्थ्य परीक्षणमा आउने गरेको बताइन् । पालिकाले नियमित चेकअप गरेमा एक– एक क्रेट अण्डाको व्यवस्था गरेको उनले सुनाइन् ।

हेलम्बु ७ इचोक स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी सरीता खनालले भिडियो एक्सरेसमेत हुने भएकाले बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउनेको संख्या बढेको जानकारी दिइन् । गाउँपालिकाले सुत्केरी हुन बर्थिङ सेन्टर आउने महिलालाई एम्बुलेन्स घरमनै लिन पठाउने र सुत्केरी भएपछि घरमै पुर्‍याउने गरेको छ । असारयता ३० हाराहारीमा प्रसूति गराइएको उनले बताइन् ।

तर स्याउलेकी सुमित्रा सापकोटा सुत्केरी हुन धुलिखेल अस्पताल पुगिन् । स्वास्थ्यकर्मीको अविश्वास र शरीरमा रगत दिनुपर्ने अवस्था आएमा ब्लड बैंकसमेत चौतारा अस्पतालमा नहुँदा जोखिम मोल्न उनले चाहिनन् । उनी भन्छिन्,“सुत्केरी हुँदा अवस्था जटिल भयो भने यताबाट धुलिखेल वा काठमाडौ रेफर गर्छन् बरु उतै गएर सुत्केरी हुँदा मानसिक तनाव त हुँदैन।”

दुर्गम ठाउँका बर्थिङ सेन्टरमा समस्या

भूगोलको हिसाबले दुर्गम ठाउँमा बर्थिङ सेन्टर स्थापना भए पनि उपकरणा अभाव, सडक सञ्चालनमा समस्या, तालिमप्राप्त स्वास्थ्यकर्मीको समस्या हुने गरेको छ । यसका लागि स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्य कर्मचारीको क्षमता विकासका लागि तालिम सञ्चालन गरीरहेको छ ।

सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आएकी स्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी जनस्वास्थ्य अधिकृत कविता पाठकका अनुसार जिल्लामा बर्थिङ सेन्टर ३२ प्रतिशत सञ्चालनमा छन् । तर यति हुँदा पनि कुनै बर्थिङ सेन्टरमा वर्षमा ५– १० वटा मात्रै प्रसूति हुने गरेको छ । आफ्नै समुदायमा प्रसूति गराउन सुविधा हुँदा पनि जनचेतनाको अभावका कारण सुत्केरी गराउन धुलिखेल, काठमाडौ जस्ता ठाउँमा जाने धेरै रहेको उनले सुनाइन् ।

जिल्लामा बर्थिङ सेन्टर ४३ वटा सञ्चालनमा छन् भने चाँडै थप सातसहित जम्मा ४७ वटा बर्थिक सेन्टर सञ्चालनमा आउने भएका छन् । तर अझै पनि तथ्यांक हेर्दा सिन्धुपाल्चोकमा संस्थागत डेलिभरी एकदमै कम छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.