धार्मिक विश्वासमा अनैतिक क्रियाकलाप

काठमाडौँ ।  समय आफ्नै रफ्तारमा बढेर साँझको ८ बज्न लाग्दै थियो । गौशला, जयबागेश्वरी, चाबहिल लगायतको पशुपति छिर्ने सडकहरुमा युवा, युवती बालक र वृद्धको बाक्लो उपस्थिति हुँदै थियो ।

मानिसहरु आफ्नै गतिमा चलमलाई रहेका थिए । कोही हातमा ओछ्याउने म्याट्रिस, ओड्ने कमल बोकेका त कोही खानेकुरा बोकेका थिए ।

मानिसहरु आफ्नै गति, योजना र वेगमा थिए । त्यो भिड, त्यो मानिस, त्यो हर्ष उल्लास, त्यो रमाइलो, मंसिर कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशीको थियो ।

बाला चतुर्दशीमा रातभर दिप प्रज्वलन गरेर जाग्राम बसी बिहानै स्नान गरी शिवालय क्षेत्र विशेष गरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ ।

हेमाद्रीलगायत धर्मशास्त्रको वर्णनअनुसार धानको सय गेडा छर्ने विधि भए पनि हाल कतिपयले मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रुपमा छर्छन् ।

त्रयोदशी राती दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ । पशुपति क्षेत्रको विशेषगरी मृगस्थली, विश्वरुप, सूर्यघाट, कैलासडाँडा, उमाकुण्ड, गौरीघाटलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने गरिन्छ ।

पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबार अघिको सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजनले दिवङ्गत पितृका नाममा शतबीज छर्ने गरेका छन् । बाला चतुर्दशीका दिन पशुपति क्षेत्रमा आउने भक्तजनले वासुकी र गुह्येश्वरी मन्दिरमा पनि पूजा गर्ने गर्दछन् । शतबीज छेरर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समाप्त हुन्छ ।

शतबीज छर्नका लागि काठमाडौको पशुपतिनाथ र आसपासका किराँतेश्वर, गौरीघाट, गुहेश्वरी, आर्यघाटको तट, श्लेषमान्तक वन लगायत पूर्वी नेपालको चतरा, बराहक्षेत्र, पर्वतको सेतीवेणी धाम, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, नवलपरासीको देवघाट धाम, धनुषाको छिरेश्वर लगायत देशभरका शिवालय एवं त्रिवेणी धामहरुमा जाग्राम बसी दीप प्रज्वलन गर्न भक्तजनको विशेष घुइचो लाग्ने गर्छ ।

सोही मेला लााग्दै थियो पशुपत परिसरमा पनि । गौरीघाटको सडकपेटीमा मानिसहरु शतबीज लिएर बसेका थिए । गौरीघाटबाट कैलासडाँडा जानेको घुइँचो थियो । रात झन् झन् छिपिँदै गर्दा मानिसको घुइँचो झनै बढेको थियो ।

मानिसहरु आफ्नो दिवङ्गत पितृले मोक्ष पाउने भएकाले रातभरी दियो बालेर बसेका थिए । कोही आफ्नो दिवङ्गत बुबा आमाको त कोही हजुरबुबा हजुर आमाको । कोही दिवङ्गत छोराछोरीको नाममा दिप प्रज्वलन गरेर बसिरहेका थिए ।

कैलासडाँडाको चहूर सधैँ सुनसान हुने गथ्र्यो । तर, हिजो रातको ९ बझिसक्दा पनि मानिसको भिड, त्रिपाल र झिलिमिलीमा रुमलिएको थियो । मानिसहरु आफ्नै कार्य व्यस्ततामा थिए । कोही दिप बालेर दिवङ्गत पितृ सम्झीरहेका थिए भने कोही विभिन्न भाकाको दोहोरीमा रमाइरहेका थिए । कोही मादल बजाएर नाँची रहेका त कोही विभिन्न आधुनिक गितमा रमाइरहेका थिए ।

अधिकांश पुरुषहरु मदिरा सेवनले लठ्ठ देखिन्थे । अझ एकान्ततिर यवायुवतीको चर्तिकलाको त कुरा नगरौं । त्यहाँ दिवङ्गत पितृले होइन उनीहहरुले मोक्ष पाउँदैछन् ।
यहाँ भजन कृतनको मौलिकताभन्दा बढी आधुनिकता छाएको देखिन्थ्यो । दिप प्रज्वलन नभएको होइन भएको छ । तर, प्रज्वलन गर्नेहरु कम छन् । त्यसमा पनि युवा पुस्ता छैनन् । वृद्धवृद्धाहरु मात्रै छन् ।

दिप प्रज्वलन नगर्ने युवा पुस्ता, दिवङ्गत पितृको मोक्ष नचाहने युवती किन जान्छन् बाला चर्तुदशीको रात पशुपति ? धार्मिक गतिविधिको नाममा किन गरिँदैछ अनैतिक र अश्लील गतिविधि ? यसको नियन्त्रण कसले गर्ने ? बाला चर्तुदशी मेला अनिन्द्राको बिरामी र फूर्सदिला कोमल जोडीको लागि सहज माध्यम बन्नु हुँदैन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.