यतिखेर सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको क्रममा मतदान सकिएर मतपरिणाम आउने क्रम जारी छ ।
अहिलेसम्म सभापति, उपसभापति र महामन्त्रीको मत परिणाम आइसकेको छ भने सहमहामन्त्रीको मतपरिणाम आउने क्रम जारी छ ।
सभापतिको पदमा यसअघिकै सभापति शेरबहादुर देउवा दोहोरिएका छन् । उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले बाजी मारेका छन् ।
त्यसैगरी, महामन्त्री पदमा लोकप्रिय मानिने युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा चयन भइसकेका छन् । यी दुवै नेता नेपाली कांग्रेसभित्र उदयीमान नेतृत्वका रुपमा हेरिन्छ ।
प्रस्तुत छ, कांग्रेस १४औँ महाधेशन केन्द्रित भई साथी विशाल पुरीले राजनीतिक विश्लेषक डा.राजेन्द्र चापागाईँसँग गरेको कुराकानीको सम्पादित अंश :
देउवाको विजयलाई कसरी हेर्नुभएको छ?
नेपाली कांग्रेसको सभापतिमा देउवाको पुनरागम भएको छ । अब देउवाले कांग्रेसभित्र पाँच वर्ष कार्यकारीको भूमिका निभाउनेछन् ।
यसअघि नेपाली कांग्रेसमा देउवाविरुद्ध नारा लगाउँदै नेतृत्व परिवर्तनको वकालत गर्ने प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापति चयनको अन्तिम चरणमा देउवालाई समर्थन गरे ।
यसले नेपाली कांग्रेसभित्र परिवर्तनको चाहाना छैन भन्ने देखायो ।
निधि र सिंहमा जता मल्खु उतै ढल्कूँ प्रवृत्ति देखियो । उनीहरुमा नारामा नेतृत्वसँगै कार्यदिशा परिवर्तन, देश र जनताबारे चिन्ताभन्दा पनि आफूले कहाँ लाभ पाइन्छ भनी अल्झेको देखियो ।
१४औँ महाधिवेशनका क्रममा एक घन्टा अघिसम्म देउवाविद्ध नारा लागउँदै हिँडेकाहरु एकघन्टापछि देउवालाई समर्थन गर्न पुगे । यसले कांग्रेसमा कति नैतिकतावन् नेता छन् भन्ने देखाउँछ ।
यस किसिमका नेता तथा कार्यकर्ता भएको पार्टीमा सिद्धान्तबमोजिम नेतृत्व परिवर्तन नहुनुलाई स्वाभाविक मानिन्छ ।
सभापतिमा शेखरको उपस्थितिलाई कसरी हेर्नुभएको छ ?
शेखर कोइरलाले सभापतिमा दाबी गर्नुभयो । जुन विवेकहीन दाबी थियो भन्ने लाग्छ मलाई। रामचन्द्र पौडेलले करिब १३ वर्ष जेल जीवन व्यतित गरिरहँदा कोइराला कतै केही गरिरहेका थिए ।
हिजो शेरबहादुर देउवाले पार्टी फोर्ने बेलामा रामचन्द्र पौडेललाई सर्वमान्य बनार राख्छु भनेर प्रस्ताव गरेको हामीले सुनका र पढेका छौँ ।
त्यतिबेला पनि रामचन्द्र पौडेलले संस्थापन पक्षलाई छोडेर जानुहुँदैन पार्टी फुटाउनुहुँदैन भनेर देउवाको आग्रह मान्नुभएन । कांग्रेस पार्टी बचाउनुपर्छ भनेर बसिरहनुभयो ।
उहाँलाई १७ पटक चुनाव हारेको भनेर बजारमा खित्काका रुपमा प्रयोग गरिन्छ । रामचन्द्र पौडेल १७ पटक चुनाव लडेको उनको चाहानाले होइन । त्योबेला परिस्थितिले पार्टीका लागि लडेको हो भन्ने मलाई लाग्छ ।
उहाँले आफ्ना लागि भन्दा पनि पार्टीका लागि १७ पटक हार्नुभएको हो । नेतृत्व युवामा आओस् युवामा आउँदैन भने रामचन्द्र पौडेलमा जाओस् भन्ने थियो ।
पौडेल यो कार्यकालभर देउवासँग जुधेर आउनुभयो । उनले पटक-पटक कोइरला परिवारलाई सहयोग गर्दै आउनुभएको थियो ।
तसर्थ यसपटक कोइराला परिवारले उहाँलाई सहयोग गर्नुपर्थ्यो । तर, शेखरले सहयोग नगरेर आफैँ सभापतिमा उठ्नुभयो । त्यो उहाँको विवेकहीन निर्णय हो ।
कांग्रेसले देउवाको नेतृत्वबाट के अपेक्षा गरेको छ ?
कांग्रेसले देउवाबाट केही आस नगरे हुन्छ । देउवा परिवर्तनको संवाहक होइनन् । हामीले उनलाई पाँच पटकसम्म प्रधानमन्त्रीका रुपमा टेस्ट गरिसकेका छौँ ।
यसअघि नेकपा इगोका कारणले फुट्यो । नेकपा फुटेको बेलामा देउवामात्रै नभएर जोकोही भए पनि प्रधानमन्त्री बन्थ्यो । सो अवसरको फाइदा देउवाले लिए । उनलाई भाग्यले पनि साथ दिएको छ ।
केपी, प्रचण्ड र देउवामा के फरक पाउनुहुन्छ ?
देउवा डाइनामिक लिडर होइनन् । तर,उनी रिक्स लिएर काम गर्न सक्ने क्षमता भएका नेताचाहिँ हुन् ।
उनी धेरै नबोल्ने, तर काम गर्दै जाने खालका हुन् ।
उनी धेरै पपुलारिटी चाँदैनन् । अन्य पार्टीका नेता धेरै बोलेर,चर्का कुरा गरेर बढी चर्चामा आउन खोज्छन् ।
तर, देउवा त्यति चर्का कुरा गर्दैनन् । मौन रहने उनको बानीलाई सकारात्म मान्न सकिन्छ ।
१४औँ महाधिवेशनमा प्रतिनिधिले देउवा किन रोजे ?
पार्टीभित्र त्यत्रो विद्रोह हुँदाहुँदै पुन: देउवा नेतृत्वमा आए । हामीलाई लागेको थियो उनी नेतृत्वमा आउँदैनन् ।
उनी संस्थापन पक्षलाई साथमा लिएर अघि बढेको देख्दा निकै चतुर रहेछन् भन्ने लागेको छ ।
हुन त संस्थापनइतर गुट र उपगुटमा विभाजन हुँदा त्यसको फाइदा देउवाले लिए । उनी धेरै नबोल्ने र थाहा नपाउने किसिमले काम गर्ने नेता हुन् ।
देश विकासमा नेतृत्व बाधक बनेको हो ?
हो, नेपाली राजनीतिमा परिर्वतनको संवाहक कोही भएनन् । परिवर्तन नेताको भाषणमा मात्रै सीमित भयो ।
नेपालमा प्रणाली र व्यवस्था धेरै परिवर्तन भए ।
तर, देशको हालत जस्ताको तस्तै छ । मनस्थिति परिवर्तन भएन । कुनै पार्टीमा विश्व परिवेश समयअनुसार समाजलाई लिएर हिड्नुपर्छ भन्ने नेतृत्व आएन ।
सबै पार्टीमा पुरानै चपाइएका अनुहार मात्रै देखिएका छन् । पार्टी स्वस्थरुपले अगाडि बढ्न सकेको छैन । पार्टी अगाडि नबढेपछि देश अगाडि बढ्न सक्दैन ।