रेलिगेसनबाट बच्नेमा एपीएफको आत्माविश्वास

काठमाडौं ।  सुरुवाती तीनै खेलमा पराजित भएपछि शीर्ष डिभिजनको लिगमा अहिले विभागीय एपीएफ फुटबल क्लब रेलिगेसन जोनमा छ । लगातारको हारसँगै एपीएफ कतै सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट ‘बी’ डिभिजन लिगमा झर्ने त हैन ? यो आम फुटबल प्रेमीलाई लाग्ने प्रश्न हो ।

खेलाडीका रूपमा आफूलाई सफलताको शिखरमा पुर्‍याइसकेका कुमार थापा एपीएफका प्रशिक्षक हुन् । मनाङ मर्स्याङ्दी क्लबबाट लगातार तीन पटक लिगको उपाधि हात पारेका थापाले त्यसपछि एपीएफ क्लबबाट खेले । जागिर त्यहीँ खाए ।

एपीएफ निरीक्षकसमेत रहेका थापाले सुरुवाती तीनै खेलमा टोलीलाई सोचेअनुकुलको नतिजा दिन सकेका छैनन् ।

एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग ३-२ अन्तरले पराजित हुँदा दोस्रो खेलमा च्यासल युथ क्लबसँग १-० र अन्तिम खेलमा नवप्रवेशी सातदोबाटो युथविरुद्ध ४-१ अन्तरले स्तब्ध भयो ।

तीन खेलमा तीन हार व्यहोर्दा एपीएफले ३ गोल मात्र गर्‍यो । आठ गोल व्यहोर्न पुग्यो । एपीएफको समग्रमा प्रदर्शन हेर्ने हो भने औषत छ । केही टोलीको तुलानामा राम्रोसमेत खेलेको छ ।

तर, लगातारको हारले टोलीले झनै मनोबल बढाउन सकेको छैन र नतिजा आफू अनुकुलको आइरहेको छैन । कतै ‘वाइल्ड कार्ड’ पाउँदै शीर्ष डिभिजन लिगमा सिधै खेल्न पाएको एपीएफ दोस्रो डिभिजनमा घटुवा हुने त हैन ? यदि एपीएफ दोस्रो डिभिजनमा झर्‍यो भने ‘बी’ डिभिजन लिग खेल्छ त रु यदि झरिनै हाल्यो भने ति खेलाडी के गर्छन् ? जो राष्ट्रिय टोलीको सदस्य छन् ।

एपीएफले भने तीन खेलमा हार भए पनि बाँकी खेलमा पुनरागमन गर्दै शीर्ष डिभिजनमा टिक्ने योजना तयार पारेको छ । एपीएफ टोलीमा आत्माविश्वास छ, हामी ए डिभिजनबाट रेलिगेसन हुन्नौं । एपीएफ चाहन्छ, लिगका बाँकी १० खेलबाट कम्तिमा १५ अंक ल्याउन । १५ अंक भएमा जुनसुकै टोलीले आफूलाई रेलिगेसनबाट जोगाउनेछ । यदि १० अंक मात्र जोड्न सके केही डर वा बच्ने सम्भावना रहन्छु, एपीएफ क्लबका प्रशिक्षक कुमार थापा भन्छन् ।

तीन खेलमा भएको पराजयले दबाब महसुस गराएको बताउँदै उनले भने, ‘लगातार तिन खेल हार्नु भनेको ठुलो दबाव हो । लिगको तिन हार भएपनि दिनप्रति दिन, एउटा पछि अर्को खेलमा राम्रो भइरहेको छ । खेलाडीले मेहनत गरेका छन् । हामी रेलिगेसनबाट बच्ने हो । ढुक्क छौं ।’

एपीएफले पछिल्लो तीनै खेलमा राम्रो प्रयास गरे पनि गोल ननिस्कँदा दबाब खेपिरहेको छ । सुरुवाती खेलमा बीबीसीविरुद्ध अन्तिम समयमा गोल व्यहोर्दा हातमा आएको अंक गुमाउन पुगेको थियो । अन्तिम खेलमा सातदोबाटोविरुद्ध २–१ को स्थितिमा दबाब झेल्दा बाँकी दुई गोल व्यहोर्न पुग्यो ।

प्रशिक्षक कुमार बाँकी १० खेलबाट कम्तिमा १५ अंक जोड्ने र नौ अंक आएको खण्डमा रेलिगेसन जोनबाट माथि रहने बताउँछन् ।

‘रेलिगेसनबाट बच्ने हो, ढुक्क छौं । हामी ‘बी’ डिभिजनमा जाँदैनौँ । हामी जित्नेछौं । रेलिगेसनबाट बच्न ९ अंक चाहिन्छ । हामी १५ अंक ल्याउँछौं’, थापा आफ्नो र टोलीको आत्माविश्वास प्रष्ट पार्छन् ।

गत लिग (७७ साल) मा समेत एपीएफको प्रदर्शन सहज हुन सकेन । एपीएफ रेलिगेसनमा परेको सरस्वतीभन्दा पाँच अंक बढी (९) बनाएर १२ औं स्थानमा रह्यो ।

त्यसबेला रेलिगेसनबाट बच्न एपीएफले ठुलो संघर्ष गर्नुपर्‍यो। ६३ सालबाट सिधै ‘ए’ डिभिजन लिग खेल्न थालेको तीन विभागीय टोलीमध्ये सबैभन्दा कान्छो सदस्य हो एपीएफ ।

एपीएफका लागि हरेक संस्करण रेलिगेसनबाट जोगिन संघर्ष गर्नुपर्ने नियतिजस्तो बनेको छ । यसपटक समेत क्लबले सोही पथ समातेको छ । तर, यसपटक क्लबसँग एएफसी क्लब लाइसेन्स छ । उसले अन्य क्लबको स्तरभन्दा आफूलाई व्यावसायिक रूपमा माथिल्लो स्तरमा उभ्याएको छ । तैपनि प्रदर्शन र नतिजामा निकै कमजोर रह्यो।

शीर्ष चारमा स्थान बनाउने लक्ष्य लिएको एपीएफ अन्य क्लबसरह प्रदर्शन दिन सकेको छैन । विभागीय क्लबबाहेक अन्य क्लबले चार विदेशी खेलाडी भित्राउँदा त्यसको प्रत्यक्ष घाटा एपीएफ जस्तै आर्मी र पुलिसलाई भएको छ ।

एएफसी लाइसेन्ससँगै अब एपीएफलाई विदेशी खेलाडी भित्राउने बाटो खुलेको छ । एपीएफ क्लब नभई अब एपीएफ फुटबल क्लब भएको छ । व्यावसायिक रूपमा क्लब अगाडि बढिसकेको छ । तर, यस विषयमा विभागले ध्यान नदिँदा क्लबले स्थिति नाजुक छ ।

‘लाइसेन्ससँगै अब हामीले विदेशी खेलाडी पनि राख्न पाउँछौं । तर, हाम्रो विभागको आफ्नै नियम हुन्छ । हामी त्यसकै तयारीमा छौं । कुरा भइरहेको छ, प्रशिक्षक थापा भन्छन् ।

यता, प्रशिक्षक थापा अन्य टोलीका खेलाडीले पाउने तलबसुविधा आफ्ना खेलाडीले पाउनेभन्दा निकै माथिल्लो स्तरको रहेको कारण पनि एपीएफको प्रदर्शन सोही अनुसारको भएको बताउँछन् ।

‘हाम्रा खेलाडीले पाउने तलब र महिनाको दुई लाखसम्म पाउने खेलाडीको तुलना हुँनै सक्दैन । हामीसँग जुन खेलाडी उपलब्ध छ । त्यहीबाट काम चलाउनुको विकल्प छैन,’ उनले भने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.